नेभिगेशन

निर्मल पुर्जासहितको निधनमा प्रधानमन्त्री शाहको श्रद्धाञ्जली

काठमाण्डौ - प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’को हिम पहिरोमा ज्यान गुमाएका निर्मल पुर्जासहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

फेसबुकमार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्रै रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ । यस्तै, सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ‘ब्रोड पिक’ आरोहणका क्रममा हिम पहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा सहित ६ जना नेपालीको ज्यान गएको हो । बिहीबार बेलुका ६ जना नेपाली सहित १० सदस्यीय टोली पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो । १० जना मध्ये चार जनाको शव हिजो नै फेला परेको थियो । आज थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेका पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले जानकारी दिएको छ ।

पर्यटन विभागका अनुसार हिम पहिरोमा परेका नेपालीहरूमा निर्मल पुर्जासहित पुरबहादुर गुरुङ, किलि पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ । उहाँहरू सबैको निधन भएको हो । इलाइट एक्सपेडले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै निर्मल पुर्जा अर्थात् ‘निम्सदाई’ले दुःखद रूपमा ज्यान गुमाउनुभएको उल्लेख गरेको छ । 

Capture-1785584632.JPG
 

प्रकाशित मिति:
थप समाज