नेभिगेशन

स्पेनमा तनाव शान्त हुँदै : इयू सदस्य देशहरूबीच विवाद सिर्जना

स्पेनमा अनधिकृत रूपमा आप्रवासी प्रवेश गरेपछिको उत्पन्न तनाव बिस्तारै शान्त हुँदै गएको छ ।

उत्तरी भुभाग सेउटा क्षेत्रमा झण्डै ६० हजार आप्रवासी अनधिकृत आप्रवासी प्रवेश गरेपछिको उत्पन्न तनाव बिस्तारै शान्त हुँदै गएको हो ।
तर यस घटनाले युरोपेली संघ (इयू) का सदस्य देशहरूबीच भने गम्भीर राजनीतिक विवाद सिर्जना गरिदिएको छ । स्पेनिस अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरूलाई मोरक्को नै फर्काइसकिएको छ । फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या ६७ पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले पुष्टि गर्नुभएको छ ।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ । यस घटनालाई लिएर इटालीले स्पेनसँगको सीमामा दिइँदै आएको शेन्जेन क्षेत्रको ‘भिसाबिनाको आवतजावत’ सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ ।

इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्यान्ड, डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन् । यता स्पेनका प्रधानमन्त्री सान्चेजले युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनीतिक स्वार्थबाट प्रेरित, स्वार्थी र गैरकानुनी भन्दै कडा आपत्ति जनाउनुभएको छ ।

अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ । मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दाबी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कडा बनाएको छ ।

प्रकाशित मिति:
थप विश्व