नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने

ड्यान्युब नदीको पानीको सतह कीर्तिमानीरूपमा घटेपछि हङ्गेरीले ४४ वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ ।

युरोपभर लामो समयदेखि चलिरहेको खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा सङ्कटको पछिल्लो प्रभावका रूपमा हङ्गेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

बुडापेस्टको दक्षिणमा रहेको यो केन्द्रले सामान्य अवस्थामा हङ्गेरीको झन्डै एकतिहाइ विद्युत् माग पूरा गर्दै आएको छ । केन्द्रका उपकरण चिस्याउन ड्यान्युब नदीको पानी प्रयोग गरिन्छ । तर मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको छ ।

यसअघि केन्द्र सञ्चालकले पानीको सतह निरन्तर घटेमा आउँदो हप्ताको मध्यसम्ममा पाक्स केन्द्र पूर्णरूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।

हङ्गेरीको राष्ट्रिय मौसम सेवा ‘हङ्गारोमेट’ ले आउँदा दिनमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरेको छ । आउँदो बिहीवार तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ, यो यस गर्मीयामको अहिलेसम्मकै उच्च तापक्रमसँग बराबर हुनेछ ।

प्रकाशित मिति:
थप विश्व