नेभिगेशन

सहयाेग रकम जुटाउन अस्ट्रेलियाभरि ५ हजार ३०० किलोमिटर साइकल यात्रा गरेको भोलिपल्टै निधन

परोपकारी कार्यका लागि रकम जुटाउन अस्ट्रेलियाभरि ५ हजार ३०० किलोमिटर साइकल यात्रा गरेका ८२ वर्षीय साइकलयात्रीको यात्रा पूरा गरेको भोलिपल्टै निधन भएको छ ।

पश्चिमी अस्ट्रेलियाको ब्रुमदेखि सिड्नीको दक्षिण–पश्चिममा रहेको बोउरालसम्मको यात्रा पूरा गरेको भोलिपल्टै बब मोन्टगोमेरीको निधन भएको बीबीसीले जनाएको छ । उहाँको निधन ‘अप्रत्याशित’ भए पनि ‘शान्तिपूर्ण’ रहेको कुरा परिवारले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

मोन्टगोमेरी र उहाँका १८ वर्षीय नाति टम माल्कनले ६ हप्ता लामो यात्रामार्फत ‘मोटर न्युरोन डिजिज’ (एमएनडी) सम्बन्धी परोपकारी संस्थाका लागि झन्डै ७४ हजार अमेरिकी डलर सङ्कलन गर्नुभएको थियो ।

एमएनडीको सहयोगका लागि मोन्टगोमेरीको यो छैटौँ ‘फन्डरेजिङ राइड’ अर्थात् सहयोग सङ्कलनका लागि गरिने यात्रा थियो । साथै यो उहाँका लागि अत्यन्तै व्यक्तिगत महत्त्वको अभियान थियो ।

अस्ट्रेलियाको राष्ट्रिय प्रसारण संस्था एबीसीका अनुसार मोन्टगोमेरी र उहाँका नाति अस्ति आइतवार बोवरल आइपुग्दा स्थानीय समुदायले भव्य स्वागत गरेको थियो ।

‘यात्राका क्रममा हामीले धेरै मानिसहरूलाई भेट्यौँ र धेरै कथाहरू सुन्यौँ । उहाँहरूले आफ्नो खल्तीबाट केही नगद निकालेर सहयोग गर्नुभयो, यो  निकै उत्कृष्ट कुरा हो’, मोन्टगोमेरीले भनेको कुरा उद्धृत गर्दै खबरमा उल्लेख छ ।

प्रकाशित मिति:
थप विश्व