नेभिगेशन

युक्रेनको राजधानीमा रुसको ठूलाे आक्रमण, कम्तीमा १७ जनाको ज्यान गयो

रुसले युक्रेनको राजधानी किभ र वरपरका क्षेत्रमा कैयौँ ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दा कम्तीमा १७ जनाको ज्यान गएको छ । आक्रमणमा अरू ४४ जना घाइते भएका युक्रेनी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बुधवार मध्यरातिपछि भएको आक्रमणलाई यस वर्ष किभमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ । युक्रेनी अधिकारीहरूका अनुसार आवासीय भवन र गोदामहरूमा ठूलो क्षति पुगेको छ । शहरको मध्यभागमा भएको आक्रमणका कारण मानिसहरू भग्नावशेषमुनि पुरिएको हुनसक्ने मेयर भिटाली क्लिच्कोले बताउनुभएको छ ।

युक्रेनी वायुसेनाका अनुसार रुसले २४ वटा ब्यालेस्टिक र ४ वटा अन्य क्षेप्यास्त्र प्रहार गरेको थियो । रुसी रक्षा मन्त्रालयले भने युक्रेनका सैन्य आपूर्ति केन्द्र, ड्रोन उत्पादन स्थल र ओडेसा बन्दरगाह नजिकै हतियार बोकेका ३ वटा कार्गो जहाजलाई निशाना बनाइएको दाबी गरेको छ ।

यसैबीच युक्रेनले पनि रुसभित्र आक्रमण तीव्र पारेको छ । रुसको मस्कोमा रहेको ’वाइल्डबेरिज’ कम्पनीको भण्डारस्थलमा युक्रेनी आक्रमणमा ५ जनाको ज्यान गएको छ । यस्तै क्रास्नोडार क्षेत्रको समुद्री तटमा भएको ड्रोन आक्रमणमा ७ जनाले ज्यान गुमाएका छन् ।

दुवै पक्षले सर्वसाधारणलाई जानीजानी निशाना बनाएको आरोप–प्रत्यारोप गरे पनि त्यसलाई अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति:
थप विश्व