नेभिगेशन

स्पेसएक्स फाल्कन–९ रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोक्कियो

अन्तरिक्ष अनुसन्धान संस्था स्पेसएक्सको रकेट फाल्कन–९ को माथिल्लो भाग आज चन्द्रमाको सतहमा ठोक्किएको छ ।

नेपाली समयअनुसार आज दिउँसो १२ बजेर २० मिनेट जाँदा चन्द्रमाको सतहमा ठोक्किएको रकेटको माथिल्लो भागको तौल झन्डै ३ हजार ९०० किलो रहेको स्पेसएक्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यो भाग प्रतिघण्टा ८ हजार ७०० किलोमिटरको तीव्र गतिमा चन्द्रमामा ठोक्किएको हो ।

रकेटको अवशेष ठोक्किएको ठाउँ निल आर्मस्ट्रङ र एड्विन एल्ड्रिनले चन्द्रमामा पाइला टेक्दा ‘अपोलो ११’ अवतरण भएको ठाउँको ठीक विपरीत दिशामा पर्छ ।

यो रकेट गएको वर्ष अर्थात् सन् २०२५ को जनवरीमा मुन ल्यान्डरलाई अन्तरिक्षमा पुर्‍याउन प्रयोग भएको थियो । आफ्नो मुख्य काम पूरा गरेपछि यसलाई अन्तरिक्षमै छाडिएको थियो । तर सौर्य ऊर्जा र चन्द्रमाको बलियो गुरुत्वाकर्षणका कारण यसको बाटो परिवर्तन भएर चन्द्रमातर्फ गएको हो ।

अन्तरिक्ष विज्ञहरूका अनुसार यो कुनै अनियन्त्रित दुर्घटना वा खतरा भने होइन । यति ठूलो गतिमा वस्तु ठोक्किएपछि चन्द्रमाको सतहमा झन्डै ६० देखि ९० फिट चौडा र १२ फिट गहिरो नयाँ खाडल बनेको वैज्ञानिकहरूको अनुमान छ ।

यस टक्करबाट निस्किएको धूलोको बादल र बनेको नयाँ खाडलको अध्ययन नासाको ‘लुनार रिकनिसन्स अर्बिटर’ लगायतका शक्तिशाली टेलिस्कोपहरूले गरिरहेका छन् ।

यस अध्ययनले भविष्यमा अन्तरिक्षमा हुने फोहर व्यवस्थापन र चन्द्रमाको बनोट बुझ्न वैज्ञानिकहरूलाई ठूलो मद्दत पुग्ने स्पेसएक्सले जनाएको छ ।

प्रायः रकेटका यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीकै वायुमण्डलमा फर्केर जल्छन् वा समुद्रमा खस्छन् । तर यस पटक यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रको कक्षतर्फ गएको हो ।

योसहित अब चन्द्रमामा थुप्रिएको मानव निर्मित फोहरको मात्रा झन्डै १ लाख ९० हजार किलो पुगेको छ । बीबीसीका अनुसार सन् १९५९ मा सोभियत सङ्घको लुना–२ पुगेयता चन्द्रमामा मान्छेले गरेको फोहर बढिरहेको छ ।

नासाका एपोलो मिसनसहित विभिन्न देशका दुर्घटनाग्रस्त रकेट र यानका ३ हजारभन्दा धेरै टुक्राहरू अहिले चन्द्रमामा छरिएका छन् ।

पृथ्वीमा जस्तो वातावरणीय क्षति नपुर्‍याए पनि चन्द्रमामा तीव्र गतिमा थुप्रिँदै गएको यो फोहरले भविष्यका अन्तरिक्ष मिसनहरूमा दुर्घटनाको जोखिम बढाएको वैज्ञानिकहरूको चिन्ता छ ।

आउँदो दशकमा चन्द्रमामा ओहोरदोहोर बढ्ने भएकाले यो फोहर व्यवस्थापन गर्नु अब अन्तरिक्ष विज्ञानका लागि ठूलो चुनौती बनेको छ ।

प्रकाशित मिति:
थप विश्व