नेभिगेशन

कांग्रेसकाे निष्कर्ष : सरकार पूर्णरूपमा असफल

काठमाण्डाै – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले १५ बुँदे आरोप सार्वजनिक गर्दै सरकारका कमजोरीका कारण जनविश्वास निरन्तर खस्किएको जिकिर गर्नुभएको हो ।

कांग्रेसले सुनसरीको देवानगञ्ज नगरपालिका वडा नम्बर ३ कप्तानगञ्ज घटनामा राज्य संयमित हुन नसकेको र बन्दुकको बलमा प्रस्तुत भएको आरोप लगाएको छ । सुनसरी घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गठन गरेको समितिप्रति असन्तोष जनाउँदै कांग्रेसले स्वतन्त्र उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।

त्यस्तै भदौ २३ र २४ गते को घटनाबारे मानव अधिकार आयोगले दोषी औँल्याएका व्यक्तिहरूलाई सरकारले आफूअनुकूल आयोग बनाएर चोख्याउन खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेसले पार्टी सभापति गगनकुमार थापा तथा सञ्चारकर्मीहरूमाथि गृह मन्त्रालयको संरक्षणमा निगरानी र त्रास सिर्जना गरेको तथा माइतीघरबाट प्रश्न सोध्ने नवयुवा अभियन्ताहरूलाई पक्राउ गरिएको भन्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

यसैगरी राहदानी खरिद प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको भूमिकामाथि प्रश्न उठाउँदै कांग्रेसले जर्मन र फ्रान्सेली कम्पनीसँगको विवादबारे तथ्य सार्वजनिक गर्न माग गरेको छ ।

गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान नगरी हतारमा जिम्मेवारी दिइएको भन्दै सरकारको नियतमाथि कांग्रेसले प्रश्न उठाएको छ ।

गौरीबहादुर आयोगको अस्पष्ट प्रतिवेदन, सुकुम्वासी, किसानका समस्या र महँगी नियन्त्रणमा सरकार चुकेको भन्दै कांग्रेसले ‘स्टन्ट’ छाडेर परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएको छ ।

प्रकाशित मिति:
थप राजनीति