नेभिगेशन

यसै वर्षभित्र स्वदेश फर्कने बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा

भारतमा दुई वर्षदेखि निर्वासनमा रहनु भएकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू स्वदेश फर्किने घोषणा गर्नुभएको छ ।

मृत्युदण्डको सजाय सुनाइए पनि नागरिकको सेवाबाट पछि नहट्ने उहाँले बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिण एसियाली विदेशी पत्रकार क्लबले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमार्फत बोल्दै ७८ वर्षीया हसिनाले, आफू पक्राउ पर्न सक्ने वा जेल जान सक्ने अवस्था भए पनि देश र नागरिकप्रतिको दायित्वबाट पछि नहट्ने बताउनु भएको छ ।

उहाँले स्वदेश फर्किने निश्चित मिति भने सार्वजनिक गर्नुभएको छैन । तर, सम्भव भएसम्म यसै वर्षको डिसेम्बरभित्र बंगलादेश फर्किने इच्छा रहेको उहाँको भनाइ छ । साथै, आफ्नो पार्टी आवामी लिगमाथिको प्रतिबन्ध हटाइनुपर्ने पनि उहाँले माग गर्नुभएको छ । सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा भएको हिंसात्मक दमनपछि हसिना सत्ता छाडेर हेलिकोप्टरमार्फत भारतको नयाँ दिल्ली पुग्नुभएको थियो ।

त्यसयता उहाँ स्वदेश फर्किनुभएको छैन । गएको वर्ष ढाकामा हसिनाको अनुपस्थितिमै चलेको मुद्दामा अदालतले उहाँलाई हत्या गराउने आदेश दिएको, हिंसा रोक्न असफल भएको तथा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । यसैबीच, बंगलादेश र भारतबीच सम्बन्ध सुधार गर्ने प्रयास भइरहेका छन् ।

ढाकाले हसिनाको सुपुर्दगीका लागि पटक–पटक आग्रह गरे पनि भारतले कानुनी प्रक्रियाअनुसार विषयको अध्ययन भइरहेको जनाएको छ । भारतले भने हसिनाको पछिल्लो सम्बोधनसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सरकार यसमा संलग्न नभएको र त्यहाँ व्यक्त गरिएका विचारलाई समर्थन नगर्ने बताउनु भएको अलजजिराले जनाएको छ ।

प्रकाशित मिति:
थप विश्व