नेभिगेशन

कर्मचारीकाे नयाँ तलब : २९ हजारदेखि साढे ९० हजार रुपैयाँसम्म

काठमाण्डाै – सरकारले चालू आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी कर्मचारीहरूको वृद्धि भएकोसहित नयाँ तलबमान स्वीकृत गरेको छ ।

साउन १ गतेदेखि लागू हुने गरी निजामती, सेना, प्रहरी, शिक्षक र पालिका तहका कर्मचारीको तलब कायम गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

नयाँ तलबमानअनुसार प्रशासनिक संयन्त्रको सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको कुल तलब ९० हजार ५९४ रुपैयाँ पुगेको छ । त्यस्तै नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षक र सरकारका सचिवहरूको कुल तलब ८४ हजार ५७६ रुपैयाँ कायम गरिएको छ ।

सरकारी सेवामा सबैभन्दा तल्लो तहका श्रेणीविहीन कर्मचारीहरूको कुल तलब ग्रेडसहित २८ हजार ९८४ रुपैयाँ पुगेको छ । सामुदायिक विद्यालयतर्फ माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब ७४ हजार ९५८ र प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४२६ रुपैयाँ कायम भएको छ ।

स्वास्थ्य सेवातर्फ अधिकृत १२औँ तहको तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ ।

तलबमानसँगै सरकारले १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ । यसका साथै अवकाशप्राप्त कर्मचारीहरूको पेन्सन रकममा पनि १० प्रतिशतले वृद्धि गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज