प्रधानमन्त्री वालेन शाह (बालेन) ले लामो समयदेखि घाटामा रहेका र बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किएको दाबी गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज बिहान ५ बुँदे प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टिमवर्कमा इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव रहेको बताउनुभएको छ । नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान र सिंहदरबार वैद्यखानामा प्रारम्भ भएका सुधारले रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको उल्लेख छ । प्रधानमन्त्री शाहले यी रुग्ण राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने उल्लेख पनि गर्नुभएको छ । प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएका उद्योग एवं संस्थानको विवरण यस प्रकार छ :
नेपाल औषधि लिमिटेड
वर्षौँसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आएको हो । कम्पनी गएको आर्थिक वर्षमा ३ करोड नाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा ३० करोडको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ । सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी तीन वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ । यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । लिमिटेडबाट अहिले ११ प्रकारका औषधि उत्पादन भइरहेका छन् ।
हेटौँडा कपडा उद्योग
वर्षौँदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । परीक्षण उत्पादनपछि नेपाल सरकारले नै उद्योग सञ्चालन गर्नेछ । तान (लुम) मर्मतपछि परीक्षण उत्पादन शुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत शुरु भइसकेको छ ।
नेपाल वायुसेवा निगम
नेपाल वायुसेवा निगमले गएको आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको त्यहि अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाखले बढी हो । यस अवधिमा नेपाल एयरलाइन्सको सिट उपयोगिता (अकुपेन्सी) बढेर ८६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा अकुपेन्सी ६ प्रतिशतले बढेको हो । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख किस्तासमेत यसै अवधिमा भुक्तानी गरिएको छ ।
दुग्ध विकास संस्थान
दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको रोकिएको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्रलाई आठ महिनाको अवधिबाट घटाएर दुईदेखि तीन महिनामा झारेको छ । यसअघि ७२ करोड रहेको बक्यौता रकम अहिले ३५ करोड रुपैयाँमा झारिएको छ । किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास शुरु भएपछि डिडिसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ । राजस्व सङ्कलनसमेत औसत दैनिक ६० लाखबाट बढेर ९० लाख पुगेको छ । कानुनविपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गर्दै आएको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड बचत गरिएको छ । डिडिसीले चाँडै खाडी देशमा घ्यू तथा चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको छ । नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः शुरु गर्ने तयारीसमेत भइरहेको छ ।
सिंहदरबार वैद्यखाना विकास समिति
सिंहदरबार वैद्यखाना विकास समितिले सरकार गठन भएपछि ११ करोड १६ लाख बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरेको छ । गएको आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी हो । निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने दिशातर्फ अग्रसर भएको छ । अहिले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्री शाहले यसअघि गएराति पनि छोटो स्टासटमार्फत ‘ढिलो होला तर, गलत हुँदैन नआत्तिनुहोस्’ भन्नुभएको थियो ।