नेभिगेशन

आठ राजनीतिक दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाण्डौ — संविधान संशोधन, सङ्घीयता सुदृढीकरण र सामाजिक न्यायलाई मुख्य एजेन्डा बनाउँदै आठ राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् ।

आज काठमाण्डौमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले अवधारणा–पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन् ।

सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्दै राजकीय सत्ताको केन्द्रीकरण अन्त्य गर्ने मोर्चाको मूल लक्ष्य छ । मधेसी, आदिवासी जनजाति, थारू, दलित, महिला र मुस्लिम लगायत सीमान्तकृत समुदायको राज्यका सबै तहमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सङ्घर्ष गर्ने अवधारणा–पत्रमा उल्लेख छ ।

वर्तमान संविधानका त्रुटिहरू सच्याउन संविधान संशोधन वा पुनर्लेखन गर्नुपर्ने निष्कर्ष निकाल्दै मोर्चाले समान जनसङ्ख्याका आधारमा प्रतिनिधित्व तथा महिला र दलितका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्रको माग गरेको छ ।

यसैगरी, प्रदेशलाई स्वायत्त शासन र सङ्घमा साझा शासनको सिद्धान्त लागू गर्ने, कृषि आधुनिकीकरण र जलविद्युतमार्फत आर्थिक वृद्धि हासिल गर्ने तथा भूमिहीन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्ने रणनीति लिइएको छ । मोर्चाको नेतृत्व सहमतिका आधारमा वा आलोपालो प्रणालीबाट सञ्चालन हुने दलहरूले बताएका छन् । 

प्रकाशित मिति:
थप राजनीति