नेभिगेशन

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतकाे छुट्टाछुट्टै भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत श्रीवास्तव र त्यसपछि चिनियाँ राजदूत माओमिङले भेटवार्ता गर्नुभएको हो ।

विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटघाट नगर्ने पूर्वअडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको ४ महिनापछि राजदूतहरूसँग एक्लाएक्लै भेट्नुभएको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।

यस्तै चिनियाँ राजदूत माओमिङसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।

राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीले २ हप्ताअघि नै उनीहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अन्य जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकेलिएको थियो ।

छिमेकी देशका राजदूतहरूलाई एकैदिन भेट्ने निर्णयले नेपालका लागि दुवै दशेको समान महत्त्व रहेको सन्देश दिन खोजिएको देखिन्छ ।

प्रकाशित मिति:
थप राजनीति