नेभिगेशन

लाेकदोहोरीको लोकप्रियता बढे पनि गुणस्तर, भाव र गहिराइ खस्किँदै

नेपाली माटोको सुगन्ध, गाउँबेँसी र वनपाखाका सुख–दुःखलाई जीवन्त रूपमा प्रस्तुत गर्ने लोकदोहोरी केवल गीत मात्र होइन, यो हाम्रो राष्ट्रिय पहिचान र अस्तित्वको बलियो खम्बा हो ।

हिजोका दिनमा घाँस–दाउरा गर्दा, मेलापात जाँदा स्वतःस्फूर्त रूपमा निस्कने  भाकाहरू आज प्रविधिको विकास र व्यावसायिकताले नयाँ मोडमा आइपुगेका छन् । प्रविधिको तीव्र गतिसँगै हाम्रो मौलिक कला संस्कृतिले कस्तो चुनौती भोगिरहेको छ र यसको संरक्षणमा राज्यका जिम्मेवार निकायहरू कसरी लागिपरेका छन् भन्ने बहस यतिबेला निकै सान्दर्भिक बनेको छ ।

आजको डिजिटल युगमा पश्चिमा देशहरुको प्रभाव नयाँ पुस्तामा निक्कै हाबी भएको छ । युवा पुस्ताको दिनचर्या बिहान उठेदेखि राति नसुतुन्जेल भू–संस्कृति र पश्चिमा संस्कृतिको अवलोकनमै बित्ने गर्छ । मोबाइल र इन्टरनेटको सहज पहुँचले गर्दा नयाँ पुस्ता आफ्नै मौलिक पृष्ठभूमि र संस्कृतिबाट बिस्तारै टाढिँदै गइरहेको तीतो यथार्थ हाम्रासामु छ ।

अझ वर्तमान समय कृत्रिम बौद्धिकता (एआई) को जमाना हो, जहाँ नयाँ सन्ततिहरू हरेक कुरा प्रविधिमै खोज्न अभ्यस्त भइसकेका छन् । यस्तो अवस्थामा प्रविधिलाई रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्न खोज्नु जस्तै मूर्खता हुने सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सदस्य सचिव किरण बाबु पुन बताउनुहुन्छ ।

उहाँका अनुसार, डिजिटल युग र विश्वब्यापी करणको प्रभावका कारण अहिले हाम्रो मौलिक संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु अनिवार्य दायित्व र पर्खाल बनेर उभिएको छ । प्रविधिलाई पन्छाउनुको साटो यसलाई नियमन गर्दै र सानै उमेरदेखि हरेक अभिभावकले आफ्ना सन्ततिमा आफ्नो मौलिक पहिचान र नेपालीपनको चेतना जगाउने ‘नवजागरण’ प्रवाह गर्नु नै आजको प्राथमिक शर्त बनेको छ ।
डिजिटल प्रविधिको यो सहजतासँगै संगीत क्षेत्रमा नयाँ र गम्भीर संकटहरू पनि भित्रिएका छन् ।

पुराना र दिग्गज धरोहरहरूले सृजना गरेका कालजयी गीतहरूलाई एआईको प्रयोग गरेर बिगार्ने, मोडिफाई गर्ने र पप कल्चरका नाममा जथाभाबी बजाउने प्रवृत्ति छ्यापछ्याप्ती देखिन थालेको छ । यो एकातिर नयाँ पुस्तालाई लोकगीतको वास्तविक स्वरूपबारे भ्रम फैल्याउने हतियार बनेको छ भने अर्कोतिर स्रष्टाहरूको प्रतिलिपि अधिकार (कपिराइट) र बौद्धिक सम्पत्तिको निर्मम दुरुपयोग पनि हो ।

कतिपय अवस्थामा त कलाकार स्वयंले आफ्नै गीतको रोयल्टी तिर्नुपर्ने जस्ता विडम्बनापूर्ण खबर आउने गरेका छन् । महाप्रबन्धक किरण बाबु पुन यसलाई एक किसिमको बौद्धिक अपराध मान्नुहुन्छ ।

नेपालको परिवेशमा साधारण नागरिक त के, स्वयं स्रष्टाहरूले समेत आफ्नो बौद्धिक अधिकारको गहिराइलाई बुझ्न नसकेको उहाँको बुझाई छ । फलाम काट्न फलामै चाहिने हुनाले यस्ता प्रविधिको दुरुपयोग रोक्न र नियमन गर्नका लागि राज्यस्तरबाटै दूरदर्शी र स्पष्ट नीति तथा प्रविधिको विकास हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

पछिल्लो समय संगीत क्षेत्रमा तीव्र रूपमा बढेको औद्योगिकीकरण र व्यावसायिकताले लोकसंस्कृतिमा सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव पारेको छ । गीत–संगीतलाई उत्पादनसँग जोड्नु, स्वरोजगारको वातावरण बन्नु र व्यावसायिक रूपमा सफल हुनु आफैँमा नराम्रो कुरा होइन । तर, गीत–संगीत मर्म नबुझे पनि जसरी पनि पैसा कमाउनुपर्छ भन्ने खालको क्षणिक नाफामुखी चिन्तनले गर्दा लोकदोहोरीको मूल मर्म र गुणस्तरमा गम्भीर ह्रास आएको छ ।

हिजोका स्रष्टाहरू गाउँ–बस्ती र पाखापखेरामा पुगेर मौलिकताको खोज र अनुसन्धान गर्थे, जसले गर्दा उनीहरूका सिर्जनामा नेपाली माटोको सुगन्ध हुन्थ्यो र ती गीतहरू कालजयी बन्थे । तर आज शहरका रोधीघर, दोहोरी साँझ र सामाजिक सञ्जालहरूमा दोहोरीको संख्या र लोकप्रियता गणितीय रूपमा बढेको देखिए तापनि त्यसको आन्तरिक गुणस्तर, भाव र गहिराइ भने खस्किएको छ ।

यस विषयमा संस्थानका कार्यक्रम उपप्रमुख रोहित सुवेदी पनि सहमत हुनुहुन्छ । लामो समयदेखि वाद्यवादन कलाकार र बाद्यबादकका रूपमा संस्थानमा कार्यरत सुवेदीका अनुसार १५ वर्ष अगाडिका दोहोरी र अहिलेका दोहोरीमा तुलना गर्दा बिस्तारै त्यसको भाव पक्ष र कलाकारहरूले प्रस्तुत गर्ने मुख्य विषयवस्तु निकै खस्किएको पाइएको छ ।

हिजोका दोहोरीका हरेक टुक्का र शब्द–शब्दमा एउटा गहिरो भाव हुन्थ्यो, जसले दर्शकको हृदय छुन्थ्यो र हलमा तालीको गडगडाहट गुञ्जिन्थ्यो । तर अहिले सीमित कलाकार बाहेक धेरैमा अध्ययन, शब्द चयनको क्षमता र विषय विज्ञताको चरम अभाव देखिएको छ । प्रत्यक्ष रूपमा हलमा बस्दा दर्शकहरूबाट पहिलेको जस्तो हुटिङ र स्वतःस्फूर्त ताली नभेटिनुले पनि यो ह्रासलाई पुष्टि गर्छ ।

महाप्रबन्धक पुनको विचारमा पनि खोज र अनुसन्धानको शून्यता नै यो गुणस्तर ह्रासको मुख्य कारण हो । आफ्नो संस्थानका कलाकार तथा कर्मचारीहरूलाई पनि नयाँ सिर्जनाका लागि गाउँ–गाउँमा गएर अनुसन्धान नगरेको र अल्छी भएको भन्दै उहाँ आलोचना गर्नुहुन्छ । विविधतायुक्त नेपालका हरेक समुदायमा लुकेर रहेका मौलिक लोकगीत र दोहोरीहरूलाई हुबहु दस्तावेजीकरण गरेर त्यसको मर्म बुझी सिर्जनशील रूपमा प्रस्तुत नगरेसम्म र हावाको तालमा व्यावसायिक गीतलाई मात्र अङ्गीकार गरेसम्म राष्ट्रिय पहिचान जोगिन सक्दैन । मौलिकता नै नभएपछि त्यहाँ गुणस्तरको मापदण्ड कायम हुन सक्दैन र क्षणिक व्यावसायिक लाभ मिले तापनि त्यस्ता सिर्जनाहरू चिरस्थायी र दीर्घकालीन हुन सक्दैनन् ।

नेपालको भूगोल र पर्यावरणको विविधता अनौठो छ, जहाँ हरेक आधा घण्टाको दूरीमा हिमाल, पहाड र तराईको परिवेश बदलिन्छ । यही पर्यावरणको प्रभाव हाम्रो लोकसंस्कृतिक र संगीतको लबजमा पनि पर्ने गर्छ र यही विविधता नै हाम्रो देशको वास्तविक सुन्दरता हो । त्यसैले लोकदोहोरीको भविष्य आउँदो समयमा मेटिएर जाने सम्भावना कदापि हुँदैन, किनकि जबसम्म नेपाली लोक (नागरिक) जीवित रहन्छ, तबसम्म यो संस्कृति रहिरहन्छ । मुख्य कुरा यसको पुस्तान्तरणलाई विकृत र गलत दिशामा जान नदिनु नै आजको मुख्य सतर्कता र ऐक्यबद्धता हो ।

मौलिक कलालाई बचाउँदै यसलाई दीर्घकालीन स्थायित्व दिन सांस्कृतिक संस्थानले अहिले एउटा नयाँ र विशिष्ट एजेन्डा अघि सारेको छ, जुन ‘संस्कृति, प्रकृति र दक्ष जनशक्तिको सुन्दर समायोजनबाट समृद्धि’ भन्ने दृष्टिकोणमा आधारित छ । महाप्रबन्धक किरण बाबु पुन यस मौलिकतालाई ‘सांस्कृतिक पर्यटन’ सँग जोड्नुपर्ने बताउनुहुन्छ ।

पश्चिमा संस्कृतिबाट प्रभावित गीत–संगीतले क्षणिक रूपमा डिजिटल प्लेटफर्मबाट लाभ दिए पनि देशको रैथाने सीप, रैथाने कृषि उत्पादन, रैथाने खाद्य परिकार र हाम्रो परम्परागत गीत–संगीतलाई एउटा साझा प्याकेजका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । यसले गर्दा एकातिर मौलिक संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतिर स्वरोजगार र आर्थिक समृद्धिको ढोका खुल्छ, जसका लागि स्पष्ट र दूरदर्शी राजनीतिक नीतिको आवश्यकता छ ।

राज्यको आधिकारिक र संरक्षक निकाय भएकाले सांस्कृतिक संस्थानले देशैभरिका  सिर्जनशील प्राणीहरू, चाहे ती दिग्गज धरोहर हुन् या ग्रामीण भेगमा ओझेलमा परेका सामुदायिक लोकसंस्कृतिका संवाहक, सबैको साझा अस्तित्वलाई कुनै पूर्वाग्रह बिना उच्च सम्मान गर्छ । सरकार र तालुक मन्त्रालयको कला–संस्कृतिप्रतिको चासो र धारणा कस्तो रहला भन्ने कुरा बुझ्न बाँकी

चेतनाको स्तरमा अभिवृद्धि, प्रविधिको नियमन र सांस्कृतिक पर्यटनको व्यावहारिक कार्यान्वयनबाट मात्रै नेपाली माटोको यो सुगन्धित लोकदोहोरीलाई आउँदो पुस्ताका लागि सभ्य र संस्कृतिमय ढङ्गले हस्तान्तरण गर्न सकिन्छ ।  

प्रकाशित मिति:
थप विशेष