नेभिगेशन

ट्याङ्करबाट तेल चोर्दा चोर्दै पर्सामा पम्प सञ्चालक र कर्मचारीसहित ७ जना पक्राउ

काठमाण्डाै – पर्सामा ट्याङ्करबाट तेल चोर्दा चोर्दै ७ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीमा संलग्न ७ जनासहित ट्याङ्कर पनि नियन्त्रणमा लिएको छ ।

इन्डियन आयल कर्पोरेशन (आईओसी) को बरौनी टर्मिनलबाट सीधै नेपाल आयल निगमको हवाई इन्धन डिपो काठमाण्डाैकाे सिनामङ्गल आउनुपर्ने २० हजार लिटर क्षमताको ना ७ ख १५३९ नम्बरको ट्याङ्कर वीरगञ्जमा रहेको सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएकाे पर्सा प्रहरीले जनाएको छ ।

ट्याङ्करको सिललाई फलामको पाइपको हुक प्रयोग गरी उचाली तेल चोरेर ग्यालेनमा निकालिरहेको अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।

तेल चोरी प्रकरणमा वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडक खण्डमा रहेको पेट्रोल पम्पका सञ्चालक सुनैन मियाँ, पम्पका कर्मचारी असलम हवारी र रफिक मियाँसहित सन्देश राना मगर, केशरराम सुनार, मन्दसिंह लामा र उमेश राना मगर पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज