नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३
एल निनाे प्रभाव

हिन्दकुश हिमालय क्षेत्रमा औसतभन्दा धेरै वर्षा र तापक्रम बढ्ने इसिमोडको प्रक्षेपण

काठमाण्डाै – एल निनोको प्रभावका कारण यस वर्ष हिन्दकुश हिमालय क्षेत्रमा औसतभन्दा धेरै वर्षा र तापक्रम वृद्धि हुने अनुमान गरिएको छ । यसको प्रभावले नेपालसहित अफगानिस्तान, बङ्गलादेश, उत्तरी म्यानमारलगायतका देशमा औसतभन्दा धेरै वर्षा हुन सक्ने देखिएको हो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), बेइजिङ नर्मल विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सेसको वायुमण्डलीय भौतिक विज्ञान संस्थानले सार्वजनिक गरेको शीतकालीन मौसमी प्रक्षेपण प्रतिवेदनले यस्तो अनुमान गरेको हो ।

प्रतिवेदनअनुसार नेपालका धेरैजसो क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुने सम्भावना छ । विशेषगरी मध्य नेपालमा वर्षाको प्रभाव धेरै देखिन सक्ने अनुमान छ ।

प्रतिवेदनले पहाडी क्षेत्रमा औसतभन्दा धेरै तापक्रम रहने र उच्च हिमाली क्षेत्रमा भने तुलनात्मक रूपमा चिसो हुन सक्ने देखाएको छ ।

त्यस्तै उत्तरी नेपालमा औसतभन्दा धेरै हिउँ जम्ने अनुमान छ । यसले हिमाली क्षेत्रमा हिउँपहिरो, हिमताल तथा नदी प्रणालीमा जोखिम बढाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

एल निनोको प्रभाव बलियो हुँदै गएको र सन् १९५० यताकै शक्तिशाली हुन सक्ने सम्भावना झन्डै ६० प्रतिशत रहेको अमेरिकी राष्ट्रिय समुद्र तथा वायुमण्डलीय प्रशासन (एनओएए) को आँकलनलाई समेत प्रतिवेदनले आधार बनाएको छ । यसले हिमालको तल्लो भेगमा वर्षा र उच्च क्षेत्रमा हिमपात बढाउन सक्ने वैज्ञानिकहरूको भनाइ छ ।

धेरै वर्षा हुने अनुमान गरिए पनि हिन्दकुश हिमालय क्षेत्रका केही भागमा खडेरी र डढेलोको जोखिम कायमै रहने प्रतिवेदनले औँल्याएको छ । विशेषगरी चीनको दक्षिणपूर्वी सिजाङ र म्यानमारका केही क्षेत्रमा वन तथा घाँसे मैदानमा डढेलोको जोखिम उच्चदेखि अति उच्च रहने अनुमान छ ।

इसिमोडका जलविज्ञ मनीष श्रेष्ठले मनसुन सकिएपछि पनि विपद् जोखिम न्यूनीकरणको तयारीलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

प्रकाशित मिति:
थप समाज