नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट माग

काठमाण्डौ – कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ ।

गएको असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिनुभयो ।

माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न नसकेको योजना प्रमुख बुढाथोकीले बताउनुभयो ।

उहाँकाअनुसार नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जाने तयारी छ । पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो ।

टोलीले पुलमा सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन झण्डै २० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । प्राविधिक टोलीले पुलको ढलेको पिल्लरसँगै दायाँ–बायाँतर्फका थप दुई पिल्लरसमेत कमजोर अवस्थामा रहेको जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ । 

प्रकाशित मिति:
थप समाज