नेभिगेशन
मंगलबार, मंसिर ८, २०८३

हावाहुरीले उत्तरी म्याग्दी र गोरखाको जनजीवन प्रभावित

काठमाण्डौ – हावाहुरी चलेपछि उत्तरी म्याग्दी र गोरखाको जनजीवन प्रभावित बनेको छ ।

सामान्यतया फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै शुरु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार, घार र खिवाङ क्षेत्रमा आज बिहान तीव्र गतिको चिसो हावा चल्यो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार हावाहुरीका कारण काभ्रेमा तीन र नारच्याङमा एक वटा घरको छानो उडाएको छ । रुख ढलेर भुरुङ्ग–तातोपानीदेखि मान्द्रेढुङ्गा जोड्ने सडक अवरुद्ध बनेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाका वडासदस्य दुर्गादत्त सुवेदीले कालीगण्डकी करिडोरको कच्ची सडक र नदी किनारको बगरमा धुलो उड्दा अन्नपूर्ण र धौलागिरि हिमाल बादलले ढाकिएजस्तो देखिएको बताउनुभयो ।

यस्तै गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा बेमौसमी हावाहुरी चलेको छ ।

बिहानको हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लाको सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको छ । केही घरका पनि छाना उडाएको स्थानीयबासिन्दाले बताएका छन् ।

मुस्ताङ र आसपासका हिमाली क्षेत्रमा तापक्रम घटेपछि उत्पन्न हुने चिसो हावा कालीगण्डकी नदीले निर्माण गरेको अन्नपूर्ण र धौलागिरि हिमालबीचको गहिरो गल्छी हुँदै दक्षिणतर्फ बहने गर्छ ।

साँघुरो गल्छीबाट हावा तीव्र गतिमा तल झर्दा दाना, नारच्याङ र आसपासका क्षेत्रमा हुरीको प्रभाव देखिने गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रमको असन्तुलन बढ्दै जाँदा उत्तरी हावाहुरी चल्ने समय परिवर्तन हुन थालेको स्थानीयबासिन्दाको अनुभव छ ।

विगतमा हिउँद सकिन लाग्दा धेरै चल्ने हावाहुरी पछिल्ला वर्षहरुमा बेमौसममै चल्न थालेको छ । तीव्र हावाहुरीले कालीगण्डकी करिडोर आसपासका सुक्खा बगर र सडकको धुलो उडाउँदा बस्तीमा धुलोको समस्या बढ्नुका साथै कृषि बाली, सुन्तलाखेती र विद्युत् प्रसारण लाइनमा असर पुग्ने गरेको छ । 

प्रकाशित मिति:
थप समाज