काठमाण्डौ - नेपालबाट हराएर अमेरिका पुर्याइएका पुरातात्त्विक महत्वको नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति फिर्ता गरिएको छ ।
पुरातत्त्व विभागले पत्रकार सम्मेलन गरेर मूर्ति फिर्ता भएको जानकारी गराइएको हो । फिर्ता भएकामध्ये संयुक्त राज्य अमेरिकाको न्यूयोर्क (म्यानह्याटन) स्थित महानगरीय कला सङ्ग्रहालयमा रहेको १६ औँ शताब्दीको काठको नृत्यदेवीको मूर्ति एउटा हो । यो मूर्ति पाटनको इबहाबहीबाट २०४५/०४६ सालतिर हराएको थियो ।
अमेरिकाकै सिएमा रहेको बेर्कली कला सङ्ग्रहालयमा रहेको तामाबाट निर्मित सुनौलो रङको पद्मपाणि लोकेश्वरको १३औँ शताब्दीको मूर्ति पनि फिर्ता गरिएको छ । यो मूर्ति काठमाण्डौको ठमेलमा रहेको विक्रमशिला महाबिहार (ठबही) बाट सन् १९८० को दशकमा हराएको थियो ।
दुवै मूर्ति लिन स्थानीय समुदाय पनि विभाग पुगेका थिए । दुवै मूर्ति अमेरिकाको न्यूयोर्कमा रहेको जिल्ला अधिवक्ताको कार्यालयको बेचबिखनसम्बन्धी शाखामा राखिएकामा अनुसन्धानका क्रममा नेपालबाट गैर कानुनी रूपमा गएको प्रमाणित भएपछि फिर्ता गरेको विभागले जनाएको छ ।
फिर्ता भएका सम्पदा सुरक्षा, संरक्षण, अनुसन्धानकर्तासम्मको पहुँचका लागि विभागले आइतबार राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ । अमेरिकाको सहयोगमा विगत वर्षमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, प्रस्तरको उमामहेश्वरको मूर्ति, प्रस्तरको नागराजको मूर्ति, पद्मपाणि लोकेश्वर अर्थात् बोधिसत्त्व अवलोकितेश्वर मूर्ति र प्रस्तरको शाक्यमुनिको मूर्ति पनि नेपाल फिर्ता भएको थियो ।