नेभिगेशन

नाइमा मोबिलिटी एक्स्पो शुरु

काठमाण्डौ – ‘नाइमा मोबिलिटी एक्स्पो–२०२६’ आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा शुरु भएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी ) दान बहादुर कार्कीले एक्स्पोको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधारस्तम्भका रूपमा स्थापित भइसकेको र यो क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नाइमाका अनुसार एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अरु उत्पादनहरू समेटिएका छन् । आजदेखि शुरु भएको एक्स्पो यही साउन ३१ गतेसम्म चल्नेछ ।

पहिलेका वर्षहरुमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि दुईवटा अटो शो हुन थालेको हो । यो वर्ष पनि अटो व्यवसायीहरूका दुई ठुला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले छुट्टाछुट्टै अटो शो आयोजना गरेका हुन् ।

भदौ ९ गतेदेखि १४ गतेसम्म नाडाको आयोजनामा ‘नाडा अटो शो–२०२६’ सञ्चालन हुनेछ । आजदेखि शुरु नाइमा एक्स्पो र भदौ ९ गतेदेखि शुरु हुने नाडा अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
थप अर्थ