नेभिगेशन

जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

काठमाण्डौ – जाजरकोट र रोल्पामा गरी पहिरोमा ज्यान गुमाउनेको संख्या ४ जना पुगेको छ ।

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा लेदोसहितको पहिरोमा परी तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भेरी नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीय केदार कार्की, ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

कार्कीको उपचारकाक्रममा नेपालगञ्जमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका ४ जनामध्ये उमा र रतिको शव भेटिएको हो । रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो ।

यो पहिरोका कारण स्थानीय रामबहादुर शाही, सिद्धिबहादुर कामी, कमला कार्की, अनिता कार्की, युनिस शाही, सुन्तली चदरा र भद्रकला कार्की घाइते हुनुहुन्छ । घाइतेमध्ये रामबहादुर र भद्रकलालाई थप उपचारको लागि नेपालगञ्ज र सुर्खेत रिफर गरिएको छ । भेरी नगरपालिका–२ चिसापानी बस्ने भिमबहादुर कार्की र गैरीगाउँ बस्ने हरिस विकको खोजी भैरहेको छ ।

हरिस पहिरोलगत्तै घरबाट निस्किएकोमा सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । पहिरोले ८ वटा घरमा क्षति गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ ।

यस्तै रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभएको छ ।

प्रकाशित मिति:
थप समाज