नेभिगेशन

एआईको कमाल : पहिलाे पटक मस्तिष्कभित्रको गोप्य सरसफाइ मापन

वैज्ञानिकहरू मानिस निदाएका बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाइ प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन् ।

‘साइन्स एड्भान्सेज’ जर्नलमा प्रकाशित नयाँ अनुसन्धानअनुसार वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन् ।

युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने २ वटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन् । मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो ५० गुणा सुस्त गतिमा बग्ने गर्छ ।

हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ । तर उमेर ढल्किँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाइ प्रक्रिया सुस्त हुन्छ जसका कारण अल्जाइमर्स र पार्किन्सन्सजस्ता जटिल रोगहरू लाग्ने गर्छन् ।

एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्नेबारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मद्दत पुग्नेछ । यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।

मस्तिष्कलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति:
थप प्रविधि