नेभिगेशन

हर्मुज जलमार्ग खोल्नेबारे इरान र ओमान लगातार छलफलमा

इरान र ओमानबीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघच्चीका अनुसार वार्तामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

अराघच्चीले ओमानसँगको वार्ता र हर्मुज खोल्ने विषयलाई अलग–अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ  । उहाँका अनुसार यसअघि प्रयोग हुँदै आएका समुद्री मार्ग अहिले सञ्चालनयोग्य नरहेकाले नयाँ मार्ग पहिचान गर्न लागिएको हो ।

शुरुमा अस्थायी मार्ग तय गरेर पछि त्यसलाई स्थायी मार्गमा परिणत गर्ने तयारी भइरहेको छ । तर नयाँ मार्ग तय भए पनि हर्मुज जलमार्ग तत्काल खुल्ने निश्चित भने नभएको नरहेको इरानले जनाएको छ ।

हर्मुज खोल्ने वा नखोल्ने विषय अमेरिकाले गएको जुनमा भएको समझदारीपत्रका शर्तहरू पालना गरे–नगरेमा निर्भर हुने इरानको भनाइ छ । विश्व व्यापार तथा तेल र ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने चिन्ता बढेको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि जलमार्गको छिटो सञ्चालनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । यसैबीच, अमेरिका र इरानबीच गएको जुनमा भएको समझदारीपत्रको अवधि सकिन लागेकाले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका गरिएको छ ।

इरानले अमेरिकाले समझदारी उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ भने हर्मुजमाथिको नियन्त्रणलाई वार्ताको प्रमुख विषय बनाएको छ ।

प्रकाशित मिति:
थप विश्व