नेभिगेशन

वैदेशिक रोजगार व्यवसायी सङ्घको आन्दोलन फिर्ता

काठमाण्डाै – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारबाही फिर्ता लिनुपर्नेलगायतका १५ बुँदे माग अघि सारेको सङ्घले ती मागको सुनुवाइ नभएको भन्दै कार्यालय बन्द गरेर भदौ ७ गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेका थियो ।

आज भएको छलफलमा युवा, श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव हरि डाँगीले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रममन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पदाधिकारीबीच भएको छलफलमा सङ्घले अघि सारेका १५ बुँदे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सहमति भएको जनाएको छ ।

छलफलका क्रममा सङ्घले उठाएका सबैजसो विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै व्यवसायीहरूले कानूनबमोजिम थप प्रमाण र कागजातसहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने र त्यहाँबाट समाधान नभए मन्त्रालयमा पुनरावेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

यससँगै वैदेशिक रोजगारमा जाने तयारीमा रहेका श्रमिक प्रभावित हुने सम्भावना तत्कालका लागि टरेको छ ।

प्रकाशित मिति:
थप देश परदेश विशेष