नेभिगेशन

बीपी राजमार्ग चौडा पार्न डीपीआर तयार

काठमाण्डौ — बीपी राजमार्गको प्रवेशबिन्दु काभ्रेको धुलिखेलबाट नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।  योजना अनुसार यो सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

अहिले मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा ५.५ मिटर छ । चौडा पारिने सडकको लम्बाइ झण्डै २० किलोमिटर रहेको कार्यालयले जनाएको छ । सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ । डीपीआर अनुसार सडक विस्तारमा तीन अर्ब ७९ करोड ७८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । सडक कालोपत्र गर्न प्रतिकिलोमिटर १८ करोड पाँच लाख खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ ।

सडकको दायाँबायाँ १५ मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताउनुभयो । विस्तार गरिने सडकखण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ ।

२०८१ साल असोजमा आएको बाढीपहिरोले बीपी राजमार्गअन्तर्गत भकुन्डेबेंसीबाट नेपालथोकसम्म झण्डै ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकोमा अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ ।

क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढेको छ । 

प्रकाशित मिति:
थप समाज