नेभिगेशन

ललितपुरमा चिकित्सकसहितको एम्बुलेन्स सेवा शुरू

काठमाण्डाै – ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर चिकित्सकसहितको एम्बुलेन्स सेवा प्रदान गर्न शुरू गरेकाे छ ।

यो सेवाका लागि महानगरले अहिले ५ वटा एम्बुलेन्ससँगै चिकित्सक एवम् स्वास्थ्यकर्मीसहित अत्यावश्यक मेडिसिन र उपकरणहरूको व्यवस्थापन गरेको छ । ११३१ नम्बरमा फोन गरेर यो सेवा लिन पाइनेछ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हिजाे याे कार्यको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरवयोग्य रहेको बताउनुभयाे ।

‘स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको यो उदाहरणीय काम संसारमा केही देशले मात्रै अवलम्बन गर्न सकेका छन्, यो सराहनीय नयाँ काम शुरू गरेकोमा बधाई भन्न चाहन्छु । नागरिकलाई कसरी सेवा दिन सकिन्छ भनेर सोच्दै गर्ने हरेक काममा सहजीकरण गर्नेछौँ’, उहाँले भन्नुभयो ।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भन्नुभयो, ‘प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्‍याउने गरी कार्यसञ्चालन प्रणालीको शुरुआत गरेका छौँ । सूचना पाएको १५ मिनेटभित्र टोली बिरामीकहाँ पुग्दछन् । सेवा प्रदान गर्दछन् । तत्काल अस्पताल लैजानु परेमा सहयोगसमेत गर्दछन् ।’

मेयर महर्जनले सिटिनेटको सदस्यका रूपमा भ्रमणमा जाँदा फिलिपिन्सको माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिनुभयो । कार्यविधि निर्माण गरेर यो सेवा शुरुआत गरेका छौँ, पैसा भएर, जनशक्ति भएर मात्रै यो काम सम्भव भएको हैन, सिक्ने र व्यवहारमा उतार्ने प्रयासअन्तर्गत हामीले हरेक क्षेत्रमा नयाँ–नयाँ काम गरिरहेका छौँ, उहाँले भन्नुभयो ।

प्रकाशित मिति:
थप समाज