नेभिगेशन

ट्रम्पको लाेकप्रियता राष्ट्रपतिकालकै तल्लो स्तरमा झर्‍याे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा निरन्तर गिरावट आइरहेको छ । रोयटर्स/इप्सोसको भर्खरैको सर्वेक्षणका अनुसार ट्रम्पको समर्थन दर घटेर ३३ प्रतिशतमा झरेको छ, यो उहाँको वर्तमान कार्यकालकै सबैभन्दा न्यून स्तर हो ।

सर्वेक्षणमा सहभागी ६४ प्रतिशत अमेरिकी नागरिकले राष्ट्रपति ट्रम्पको कार्यसम्पादनप्रति असहमति जनाउँदा केवल ३३ प्रतिशतले उहाँको कामलाई समर्थन गरे ।

यस महिनाको शुरूमा भएको एक सर्वेक्षणमा ट्रम्पको समर्थन दर ३५ प्रतिशत थियो ।

सर्वेक्षणका अनुसार ट्रम्पको अहिलेको समर्थन दर उहाँको कार्यकालकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ । यसअघि सन् २०१७ को डिसेम्बरमा पनि उहाँको समर्थन दर ३३ प्रतिशतमा झरेको थियो ।

सर्वेक्षणले इरानसँगको सम्भावित युद्धबारे अमेरिकी नागरिकमा रहेको चिन्तालाई पनि उजागर गरेको छ । झन्डै ८० प्रतिशत उत्तरदाताले अमेरिका र इरानबीचको द्वन्द्व लामो समयसम्म लम्बिने आशङ्का व्यक्त गरे ।

सन् २०२५ मा ह्वाइट हाउस फर्किनुभएका ट्रम्पको लोकप्रियतामा यस वर्ष धक्का लाग्यो; यस्तो हुनुको कारण अमेरिकाको सहयोगी इजरायलसँग मिलेर इरानमाथि आक्रमणको आदेश दिनु थियो ।

त्यसपछिको द्वन्द्वले विश्वको तेल व्यापारको पाँचौँ भागलाई ठप्पजस्तै पारेको छ जसले गर्दा पेट्रोलको मूल्य बढेको छ । यसले अमेरिकी परिवारहरूमाथि त भार थपेकै छ, साथै नोभेम्बरको मध्यावधि चुनावमा कंग्रेसमा आफ्नो बहुमत जोगाउने प्रयास गरिरहेका ट्रम्पका रिपब्लिकन सहयोगीहरूलाई पनि अप्ठ्यारोमा पारेको छ ।

प्रकाशित मिति:
थप विश्व