नेभिगेशन

२३ दिन एक्लै परेका कर्णालीका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिँदै

काठमाण्डाै – नियुक्त भएको २३ दिनसम्म मन्त्रिपरिषद‍्मा एक्लै परेका कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासकाे मत लिँदै हुनुुहुन्छ । केहीबेरपछि बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासकाे मत लिने कार्यसूची छ ।

गएको साउन १२ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका शाहीले दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति नजुट्दा अहिलेसम्म १ जना पनि मन्त्री नियुक्त गर्नुभएको छैन । प्राकृतिक विपद्को जोखिमपूर्ण समयमा सरकार मन्त्रीविहीन हुँदा प्रदेशको प्रशासनिक काम कारबाही प्रभावित बनेका छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ । अहिले सत्ता गठबन्धनमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ र नेकपा एमालेका १० गरी २४ जना सांसद रहेकाले मुख्यमन्त्री शाहीले सहजै बहुमत पाउने देखिन्छ ।

झन्डै १ महिना एक्लै प्रदेश मन्त्रिपरिषद् चलाउनुभएका शाहीले आज विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति