नेभिगेशन

टस जितेर पाउने १० लाखभन्दा सीधै पाउने ५० हजारमा धेरै आकर्षण !

तपाईँलाई कसैले ‘अहिले नै पक्का ५० हजार डलर दिन्छु’ वा ‘सिक्का उफारेर जित्नुभयो भने १० लाख डलर दिन्छु नत्र केही पनि पाउनुहुन्न’ भन्यो भने तपाईँ कुन विकल्प रोज्नुहुन्छ ?

यसको जवाफ मानिसको जोखिम लिने क्षमतामा भर पर्छ ।

भर्खरै बेलायत र अमेरिकामा भएकाे एउटा सर्वेक्षणले मानिसहरू जोखिम मोलेर ठूलो सफलता वा धन कमाउनुभन्दा विना जोखिम सीधै हात पर्ने निश्चित कुरामा धेरै आकर्षित हुने देखाएको छ ।

बेलायतका ४ हजार ६०० वयस्क नागरिकमा भएको अध्ययनमा ७३ प्रतिशत मानिसले तत्काल ५० हजार डलर लिने सुरक्षित विकल्प रोजेका थिए । जम्मा २१ प्रतिशतले मात्र १० लाख डलर जित्ने आधा सम्भावनाको जोखिम उठाए । अमेरिकामा भएकाे सर्वेक्षणमा पनि यस्तै नतिजा आएको थियो ।

अध्ययनले पुरुषको तुलनामा महिलाहरू अझ बढी सुरक्षित विकल्प रोज्ने देखाएको छ । जोखिम नलिई ५० हजार लिनेमा ८२ प्रतिशत महिला थिए भने पुरुषको सङ्ख्या ६३ प्रतिशत थियो । त्यस्तै पाका उमेरका मानिसहरूभन्दा १८ देखि २४ वर्षका युवाहरू भने केही धेरै जोखिम लिन तयार देखिएका छन् ।

अर्थशास्त्रीहरूका अनुसार मानिसले फाइदा र घाटाको हिसाब विशुद्ध गणितीय रूपमा मात्र गर्दैनन् । व्यवहारवादी अर्थशास्त्र भन्छ– मानिसको मनोविज्ञान ठूलो फाइदा कमाउनुभन्दा पनि निश्चित भइसकेको कुरा गुमाउन धेरै डराउने खालको हुन्छ ।

अर्थात् १० लाख डलरको आशमा जोखिम मोल्दा हातैमा आएको ५० हजार डलर पनि गुम्ने डरले मानिसलाई सुरक्षित निर्णय लिन बाध्य बनाउँछ ।

समग्रमा यो अनुसन्धानले मानव स्वभाव नै ठूलो सपनाको पछि कुदेर जोखिम उठाउनुभन्दा सानै भए पनि पक्का र सुरक्षित उपलब्धिमै रमाउने खालको हुन्छ भन्ने प्रमाणित गरेको छ ।

प्रकाशित मिति:
थप विश्व