नेभिगेशन

गाजामा शव गाड्ने ठाउँ अभाव, युद्ध शुरू भएयता ४० भन्दा धेरै चिहान ध्वस्त

प्यालेस्टाइनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेसँगै शव गाड्ने ठाउँ अभाव हुँदै गएको छ ।

गाजामा हजारौँ शव बगैँचा, विस्थापितहरूका लागि बनाइएका शिविर, विद्यालय वा अस्पतालका परिसरजस्ता अस्थायी स्थलहरूमा गाडिएका समाचार संस्था अलजजीराले जनाएको छ ।

युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुङ्गामात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ ।

सन् २०२५ को अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरूले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूबाट आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन् ।

युद्धविरामको घोषणा भएयता कम्तीमा १ हजार २०० जना प्यालेस्टिनी मारिएका छन् र ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ ।

गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका ७ वटा सामूहिक चिहानबाट ५२९ जना प्यालेस्टिनीको शव निकालिएको बताएका छन् ।

सन् २०२३ मा गाजामा युद्ध शुरू भएयता गाजामा ७३ हजार जनाभन्दा धेरै मारिएका छन् । गाजाको ‘धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालय’ का अनुसार युद्ध शुरू भएयता ४० भन्दा धेरै चिहान ध्वस्त पारिएका छन् ।

इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कडा प्रतिबन्धहरू पनि लागू गरेको छ जसले गर्दा परिवारहरूका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको सङ्ख्या अझ घटेको छ ।

इजरायली बमबारी र जबरजस्ती विस्थापनको आदेशका कारण लाखौँ प्यालेस्टिनी आफ्ना घर छोड्न बाध्य भएपछि यसअघि चिहानका लागि तोकिएका क्षेत्रहरू विस्थापितहरूका लागि आश्रयस्थलमा परिणत गरिएका छन् ।

गाजाका अधिकारीहरूका अनुसार चिहानमा राखिने ढुङ्गाजस्ता सामग्रीको अभावका कारण अहिले शव गाड्ने खर्च २३५ डलरदेखि ३३५ डलरसम्म पुगेको छ ।

राम्रो समाधि–शिलाका लागि रकम नजुटेसम्म भत्किएका भवनका इँटा–ढुङ्गा, माटो वा जस्तापातालाई अस्थायी समाधि–चिह्नका रूपमा प्रयोग गरिन्छ ।

धार्मिक बन्दोबस्ती मन्त्रालयका सञ्चार अधिकारी इक्रामी अल–मदलालका अनुसार युद्ध शुरू हुँदा नै गाजाका ६० वटा चिहानमध्ये धेरैजसोको क्षमता भरिइसकेको थियो ।

मन्त्रालयले शव गाड्ने नयाँ ठाउँहरूको खोजी गरिरहेको छ । अधिकारीहरूका लागि अस्थायी ठाउँबाट चिहानस्थलहरूमा शव सार्ने कार्य चुनौतीपूर्ण बनेको छ ।

१९ वर्षभन्दा धेरै समयदेखि चिहान खन्ने काम गर्दै आउनुभएका ५० वर्षीय ताफेश अबु हाताबले गाजा युद्ध आफ्नो पेशागत जीवनको सबैभन्दा कठिन समय भएको बताउनुभएको छ ।

ताफेश काम गर्ने खान युनिसको चिहानमा युद्धको शुरूमा झन्डै ६० वटा चिहान थिए । अहिले त्यहाँ ६ हजार वटा चिहान छन् र युद्धको एक समयमा उहाँले दिनहुँ झन्डै ३५ वटासम्म चिहान तयार पार्नु हुन्थ्यो ।

उनले व्यवस्थापन गर्ने शवहरूमध्ये धेरैजसो महिला र बालबालिका (शिशुहरूसमेत) का हुन्छन् । कहिलेकाहीँ इजरायली आक्रमणमा कुनै पूरै भवन, गाडी वा अस्थायी आश्रयस्थललाई ध्वस्त पारेपछि सिङ्गो परिवारकै शवहरू चिहानमा आइपुग्छन् ।

प्रकाशित मिति:
थप विश्व