नेभिगेशन

बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार

काठमाण्डौ – नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ ।

सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट ९५ जनाको सकुशल उद्धार गरिएको छ । तीमध्ये आठ विदेशी रहेका छन् । त्यसैगरी, रसुवाको हाकुको जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनाको उद्धार गरिएको छ भने अरु तीन वटा टनेलमा उद्धार  भइरहेको सेनाले जनाएको छ ।

सेनाका  अनुसार टिमुरे क्षेत्रमा हराइरहेका २१ जना भारतीय पर्यटकको पनि उद्धार गरेर काठमाण्डौ ल्याउने तयारी भैरहेको छ । सरकारले आज बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित इलाकाहरूमा खोजी, उद्धार र राहत कार्यलाई थप तीव्रता दिएको छ ।

जोखिममा परेका नागरिकहरूको सहायताका लागि सेनाले हिजो राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्‍याइसकेको छ । उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ ।

आज बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको सरकारले जनाएको छ ।

सरकारले नदी किनाराका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सबै संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ ।

प्रकाशित मिति:
थप समाज