नेभिगेशन

नुवाकाेटमा बिजुली आपूर्ति शुरू

काठमाण्डाै – भोटेकोशीको बाढीबाट नुवाकाेटका विभिन्न ठाउँमा अवरुद्ध भएकाे बिजुली आपूर्ति फेरि शुरू भएकाे छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौघाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत बिजुली आपूर्ति व्यवस्था मिलाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेशनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमा चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ ।

आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र बेलुकीसम्म बिजुली आपूर्ति शुरू गर्ने प्रयास भइरहेको प्रवक्ता ढकालले बताउनुभयो ।

त्रिशूली क्षेत्रका केही ठाउँमा भने धादिङमा रहेकाे सल्यानटार सबस्टेशनमार्फत बिजुली आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ । बाढीबाट क्षतिग्रस्त संरचनाका कारण नियमित प्रणालीबाट बिजुली आपूर्ति गर्न कठिनाइ भएका क्षेत्रमा वैकल्पिक स्रोत प्रयोग गरी सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

बिजुली आपूर्ति यथाशीघ्र नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले काठमाण्डाै तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक जनशक्ति, आवश्यक उपकरण र स्रोतसाधनसहितका टोली नुवाकोटतर्फ परिचालन गरेको छ । टोलीले प्रभावित विद्युत् संरचनाको निरीक्षण, मर्मत तथा वैकल्पिक आपूर्ति व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।

प्राधिकरणले बाढीबाट क्षति पुगेका विद्युत् संरचनाको अवस्था निरन्तर मूल्याङ्कन गर्दै सम्भव भएका ठाउँमा वैकल्पिक प्रणालीबाट आपूर्ति सञ्चालन गर्ने तथा क्षतिग्रस्त संरचनाको मर्मत गरी नियमित बिजुली आपूर्ति पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाइएको जनाएको छ ।

प्रकाशित मिति:
थप समाज