नेभिगेशन

‘बाढीपछि विदुरमा उद्धार र राहत चुनौतीपूर्ण, केन्द्रकाे सहयाेग आवश्यक’

काठमाण्डाै – नुवाकोटको विदुर नगरपालिकाको बाढी प्रभावित क्षेत्रमा प्रभावितको दैनिकी कष्टकर र जोखिमपूर्ण बनेको छ । बाढीका कारण बजार र बस्ती तहसनहस भएका छन् । स्थानीय प्रतिनिधिलगायत सम्पूर्ण नगरपालिका टोली र सुरक्षा निकायका संयन्त्रहरू अहोरात्र खटिएर समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन् । कठिन परिस्थिति र सीमित साधन–स्रोतका बाबजुद पनि प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण र प्राथमिक राहत वितरण कार्यलाई निरन्तरता दिइरहेका छन् ।

अहिलेको सबैभन्दा ठूलो चुनौतीका रूपमा यातायात र सहज पहुँचको अभाव देखिएको छ । सडक सञ्जाल अवरुद्ध भएका कारण जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई उद्धार गर्न तथा खाद्यान्न पुर्‍याउन असहज भइरहेको छ । गाडी जान सक्ने ठाउँहरूमा गाडीमार्फत नै खाद्यान्न र आवश्यक सामग्री पठाइएको छ भने सडक पहुँच नभएका र घरवारविहीन भएकाहरूको उद्धारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने काम भइरहेको छ । यस विषम परिस्थितिमा सबैभन्दा धेरै चिन्ता बालबालिकाको सुरक्षालाई लिएर देखिएको छ । बाटोघाटो बन्द भएका कारण विद्यालय गएका धेरै बालबालिकाहरू वारिपारि नै राेकिएएर अभिभावकसँग भेट हुन नसकेको अवस्था छ । स्थानीय प्रशासनले ती बालबालिकाहरूलाई विद्यालयमै सुरक्षित राख्दै विभिन्न लट र शिफ्ट बनाएर अभिभावकसम्म पुर्‍याउने कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

बाढीले विदुर नगरपालिकाका धेरैजसो वडाहरूमा क्षति पुर्‍याएको छ । वडा नम्बर १० को बेत्रावती बजार, भैँसे बजार र क्याटफिल्ड, वडा नम्बर ७ को सोले बजार र पिपल्टार बाढीबाट धेरै प्रभावित भएका छन् । त्यसैगरी विदुर वडा नम्बर १ को ढुङ्गे तथा त्रिशूली बजार र वडा नम्बर ४ को सिलचोक एवम् देवीघाटमा ठूलो मात्रामा भौतिक संरचनाहरू नष्ट भएका छन् । राहतको कुरा गर्दा मानवीय क्षति न्यून हुनु यस विपद्को सकारात्मक पक्ष हो तर भौतिक विनाश भने निकै व्यापक छ ।

स्वास्थ्य उपचारका सन्दर्भमा पनि खोला वारिपारिको भूगोलले चुनौती थपेको छ । मुख्य त्रिशूली अस्पताल खोलापारि पर्ने भएकाले घाइते र बिरामीहरूलाई त्यहीँ व्यवस्थापन गरिएको छ भने वारि रहेका नागरिकका लागि नेपाली सेनाको क्याम्पभित्र प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । त्यसका साथै गम्भीर अवस्थाका बिरामीहरूलाई थप उपचारका लागि काठमाण्डौसमेत पठाइने व्यवस्था गरिएको छ ।

यो सङ्कटको बेला पालिका र सुरक्षा निकायहरूले आफ्नो तर्फबाट अथक प्रयास गरिरहेका भए पनि फिल्डको वास्तविक माग र आवश्यकता पूर्ति गर्न केन्द्रीय सरकारको विशेष सहयोग अपरिहार्य देखिएको छ । विशेषगरी त्रिशूली बजारजस्ता बढी प्रभावित क्षेत्रमा तुरुन्त अस्थायी पुल स्थापना गर्न र हिलो पन्छाउने कार्यलाई तीव्रता दिन केन्द्रबाट तालिमप्राप्त थप जनशक्ति पठाइनुपर्ने आवश्यकता छ । सेना, प्रहरी र सशस्त्र प्रहरीको थप टोली खटाएर स्थानीयसँगको सहकार्यमा घरभित्र फसेकाहरूको उद्धार र सफाइ कार्यलाई अघि बढाउने स्पष्ट नीति र निर्णय केन्द्रबाट छिटोभन्दा छिटो होस् भन्ने नै अहिलेको मुख्य माग र अपेक्षा रहेको छ ।

(विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीसँग साथी महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

प्रकाशित मिति:
थप समाज