नेभिगेशन

इबोला विरुद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधी कम्पनीको दावी

अफ्रिकामा इबोला सङ्क्रमण नियन्त्रणका प्रयास तीव्र भइरहेका बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डिबुग्यो प्रजातिको इबोलाविरुद्ध सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ ।

इजिप्टको मिनाफार्मले महामारी तयारी नवप्रवर्तन समितिबाट एक करोड ६५ लाख ५० हजार अमेरिकी डलरसम्मको सहयोग पाउने भएको छ । जर्मनीको बर्लिनमा यसको सहायक कम्पनी प्रोबायोजेनले विकास गरिरहेको खोपलाई प्रयोगशाला चरणबाट मानवमा गरिने प्रारम्भिक क्लिनिकल परीक्षणसम्म पुऱ्याउने लक्ष्य राखिएको एएफपीले जनाएको छ ।

बुन्डिबुग्यो प्रजातिको इबोलाविरुद्ध अहिलेसम्म कुनै विशिष्ट खोप वा उपचार उपलब्ध छैन । त्यसैले कङ्गोमा फैलिएको पछिल्लो प्रकोप नियन्त्रणका लागि नयाँ खोपको विकासलाई महत्वपूर्ण मानिएको छ । 

डब्लूएचओद्वारा युगाण्डालाई इबोलामुक्त घोषणा

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले ४२ दिनसम्म नयाँ सङ्क्रमण नदेखिएपछि युगाण्डालाई इबोलामुक्त घोषणा गरेको छ । डब्ल्यूएचओले युगाण्डालाई आधिकारिक रूपमा इबोलामुक्त घोषणा गरेको हो । अन्तिम पुष्टि भएको बिरामी अघिल्लो महिना जुलाई १६ मा अस्पतालबाट डिस्चार्ज भएपछि ४२ दिनसम्म नयाँ सङ्क्रमण नदेखिएसँगै प्रकोप अन्त्य भएको घोषणा गरिएको हो ।

युगाण्डामा यसपटक कुल २० जना इबोला सङ्क्रमित अस्पताल पुगेका थिए भने दुई जनाको ज्यान गएको थियो । तीमध्ये अधिकांश सङ्क्रमित छिमेकी देश कङ्गोबाट गएका थिए । तर, कङ्गोमा भने अवस्था अझै गम्भीर छ । ३ महिना अघि मे १५ मा प्रकोप घोषणा भएयता त्यहाँ ५ हजार ६ सयभन्दा बढी सङ्क्रमण पुष्टि हुनुका साथै २ हजार ७ सयभन्दा बढीको ज्यान गएको खबरमा उल्लेख छ । 

प्रकाशित मिति:
थप विश्व