नेभिगेशन

तिब्बतको जिराङ क्षेत्रमा उद्धारलाई तीव्र बनाउन चिनियाँ राष्ट्रपति सीको निर्देशन

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ ।

उहाँले प्रभावितको पुनःस्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड दिनुभएको छ । सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

बैठकमा सीसहितका नेताहरूले बुधबार गाइरोङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपद्का पीडितप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गर्नुभएको थियो ।

बैठकले उद्धार कार्यलाई द्रुत, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । परिवर्तनशील मौसम, भिरालो भाग, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण जिराङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण भैरहेको विश्लेषण गरिएको छ ।

प्रभावित नागरिकको पुनःस्थापना तथा विपद्पछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिइएको छ । साथै चीनले नेपालको भोटेकोशी बाढीपछि विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने जनाएको छ ।  

प्रकाशित मिति:
थप विश्व