नेभिगेशन

इरानविरुद्धका अमेरिकी प्रतिबन्धहरू थप कडा बन्दै

अमेरिकाले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै विश्वभर रहेका उसका आयस्रोत र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबाबमा नझुक्ने अडान दोहोर्‍याएको छ ।

अमेरिका र इरानबीच चलिरहेको तनावका बीच तेहरानले अमेरिकाले लगाएका ‘अन्यायपूर्ण’ आर्थिक प्रतिबन्धविरुद्ध दृढतापूर्वक उभिने जनाएको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले विदेशी व्यापारमा उल्लेख्य गिरावट आएको स्वीकार गर्नुभएको छ भने देशमा मुद्रास्फीति पनि उच्च स्तरमा पुगेको छ ।

तर, तेहरानले आर्थिक दबाबका बाबजुद आत्मसमर्पण नगर्ने जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इरानले वार्ताको ढोका बन्द नगरेको भए पनि आफ्नो राष्ट्रिय सुरक्षा र हितमा सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

इरानी सेनाले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको दाबी गरेको छ । अमेरिकाले भने इरानमाथि आर्थिक दबाब अझै बढाउने नीति लिएको छ ।

वासिङ्टनले इरानसँग व्यापार वा आर्थिक कारोबार गर्ने विदेशी संस्था र देशमाथि समेत कारबाही हुन सक्ने चेतावनी दिएको छ । अमेरिकी रणनीतिको उद्देश्य इरानलाई आर्थिक रूपमा थप एक्ल्याउँदै वार्तामा फर्कन दबाब दिनु रहेको विश्लेषकहरूको भनाइ छ ।

युद्ध शुरु भएको ६ महिना भइसक्दा पनि कुनै पनि पक्ष पछि हट्ने संकेत देखिएको छैन । यद्यपि, पाकिस्तान र कतारजस्ता क्षेत्रीय देशहरूले दुवै पक्षबीच संवाद पुनः सुरु गराउन कूटनीतिक प्रयास जारी राखेका छन् ।

प्रकाशित मिति:
थप विश्व