नेभिगेशन

कृष्णभीरमा सडक भासिएपछि २ वटा वैकल्पिक मार्गबाट गाडी सञ्चालन

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाण्डाैबाट बाहिरिने गाडीका लागि वैकल्पिक सडक प्रयोगमा आएको छ ।

त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा झन्डै २० मिटर लम्बाइको सडकको आधाभन्दा धेरै भाग भासिएको हो । याे सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाण्डाैबाट बाहिरिने गाडीलाई तत्कालका लागि २ वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । उहाँका अनुसार ठूला गाडी काठमाण्डाै बाइरोड–नौबीसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना गाडी तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

कान्ति लोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले याे सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

बाढी तथा पहिरोका कारण विभिन्न ठाउँका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

यसैबीच सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाण्डाैबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाइने छ ।

प्रकाशित मिति:
थप समाज