नेभिगेशन

‘युनिफिकेशन चर्च’ की नेत्री हानलाई २ वर्षको जेल सजाय

दक्षिण कोरियाको एक अदालतले ‘युनिफिकेशन चर्च’ की नेत्री हान हक–जालाई २ वर्षको जेल सजाय सुनाएको छ ।

सोल केन्द्रीय जिल्ला अदालतले ८३ वर्षीया हानलाई पूर्वराष्ट्रपति युन सुक–योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीका कसुरमा सजाय सुनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम केओन–हीलाई च्यानलका झोला र हिराको हारलगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ ।

यद्दपि हानले किमलाई डिजाइनर ह्यान्डब्यागजस्ता सामग्रीहरू उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ । उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन् ।

‘युनिफिकेशन चर्च’ का रूपमा चिनिने ‘फ्यामिली फेडेरेशन फर वल्र्ड पिस एन्ड युनिफिकेशन’ की प्रमुख हानलाई युन र किम जोडिएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो ।

सन् २०२४ को डिसेम्बरमा सैनिक शासनको घोषणा गरेपछि पदबाट हटाइएका पूर्वराष्ट्रपति युनविरुद्ध शुरू गरिएका धेरै अनुसन्धानहरूमध्ये यो एउटा थियो ।

प्रकाशित मिति:
थप विश्व