नेभिगेशन

विपद् व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद‍्बाट उत्पन्न समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले काम तीव्ररूपमा अगाडि बढाउने बताउनुभएको छ ।

सिंहदरबारमा आज आयोजित सरोकारवाला निकायहरूको बैठकमा उहाँले उद्धार, राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन ५ वटा छुट्टाछुट्टै कार्यदल अर्थात् (टास्क फोर्स) गठन गरिने जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सडक, पुल, खानेपानी तथा सरसफाइ र सुरुङमार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने उल्लेख गर्नुभयाे ।

साथै उहाँले विपद् व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ ।

पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने वा मौजुदा कानूनी संरचनाबाटै अघि बढ्ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप अर्थ