नेभिगेशन

राति केही ठाउँमा ठूलो वर्षा

काठमाण्डौ - अहिले नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ । 

बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका धेरै ठाउँमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए राति गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ  । पछिल्लो १२  घण्टामा सिन्धुपाल्चोकको मेलम्ची  र रुपन्देहीको तिलोत्तामा सबैभन्दा धेरै ९२ मिलिमिटर वर्षा मापन भएको छ । 

यसै गरी नुवाकोटको ककनी, नवलपरासीको सिमरी, तनहुँको खैरेनी, गोरखा, लमजुङको भोर्लेटार  र डोटीमा पनि मध्यमदेखि ठूलो वर्षा भएको छ ।  कास्कीको मोदी खोला, काठमाण्डौको बागमती नदी र लमजुङको मर्स्याङ्दी नदीमा बाढी आएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आज पनि देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । 


 

प्रकाशित मिति:
थप समाज