नेभिगेशन

राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाण्डाै – राष्ट्रियसभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ । आज बसेको सभामा अध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

बाढीमा ज्यान गुमाएकाप्रति राष्ट्रियसभाले श्रद्धाञ्जली अर्पण गरेको छ । शोक सन्तप्त परिवारजन, आफन्त तथा समुदायप्रति समवेदना व्यक्त भएको छ ।

विशेष प्रस्तावमार्फत राष्ट्रियसभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ । यस्तै घाइतेहरूको निःशुल्क उपचार गराउन तथा वैज्ञानिक रूपमा शव व्यवस्थापन गर्न भनिएको छ ।

यस्तै भोटेकोशी बाढीपछिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन् । आजको बैठककाे शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका हुन् ।

नेपाली कांग्रेसका सांसद युवराज शर्माले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद मदनकुमारी शाहले पनि एक दिन राष्ट्रिय झण्डा झुकाएर राष्ट्रिय शोक घोषणा गर्न माग गर्नुभयो ।

बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले सङ्घ, प्रदेश र पालिका सरकार तथा जनप्रतिनिधिबीच प्रभावकारी समन्वय नभएको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

भोटेकोशी बाढीको आज १ हप्ता भइसकेको छ । गएको १० गते बुधवार भोटेकोशी नदीमा बाढी आएको थियो । यसले जनधनको क्षति गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवाको भोटेकोशीमा आएको बाढीमा परेकामध्ये अहिलेसम्म ९८७ जनाको शव भेटिएको छ । अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । अहिलेसम्म ११ हजार ८१४ जनाको उद्धार भएको छ ।

राष्ट्रियसभाको अर्को बैठक यही २३ गते दिउँसो सवा १ बजे बस्नेछ ।

प्रकाशित मिति:
थप राजनीति