नेभिगेशन

तातोपानीपारिकाे झाङ्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द

काठमाण्डाै – चीन सरकारले नेपाल–चीन उत्तरी नाका तातोपानीपारिकाे झाङ्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिएको छ ।

सम्भावित विपद्लाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेलमार्फत झाङ्मु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको जानकारी गराएको हो । पाण्डेका अनुसार चिनियाँ अधिकारीले केही समयका लागि बन्दरगाह बन्द गरेको र कहिले खुल्छ भन्नेबारेमा अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरेका छन् ।

झाङ्मु बन्दरगाहबाट भन्सार कार्य बन्द गर्नुका साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ । चिनियाँ पक्षले कार्गो आवागमनसमेत अस्थायीरूपमा रोकिएको जानकारी दिएको छ ।

बाढीले रसुवागढी नाका बगाएपछि तातोपानी नाकालाई विकल्पका रूपमा हेरिएको थियो । तातोपानी नाकासमेत बन्द भएपछि नेपाल–चीन व्यापार प्रभावित भएको छ । मुख्य पर्व दशैँ र तिहार नजिकै आएको अवस्थामा ठूलो असर पर्ने व्यवसायीको भनाइ छ ।

झाङ्मु बन्दरगाह बन्द गरिएपछि नेपाल भित्रिने मालवाहक कन्टेनर न्यालममै रोकिएका छन् । लामो समय त्यहाँ रहँदा पार्किङ भाडाका कारण समस्या पर्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका उपाध्यक्ष सुजित बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति:
थप अर्थ