नेभिगेशन

अमेरिका–भेनेजुएला तेल सम्झौताको विस्तृत विवरण सार्वजनिक

अमेरिकी सरकारले भेनेजुएलासँग भएको तेलसम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले आज तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सम्झौताअनुसार भेनेजुएलाका अन्तरिम अधिकारीहरूले अमेरिकी निजी कम्पनी ‘नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्स’ (एनएबीईपी) लाई झन्डै ६५ अर्ब ब्यारेल प्रमाणित भण्डार भएका १७ वटा तेल क्षेत्र सञ्चालनका लागि १०० वर्षको अनुमति प्रदान गरेका छन् ।

यसको सट्टामा एनएबीईपीले अमेरिकी युद्ध विभागअन्तर्गतको ’अफिस अफ स्ट्रेटेजिक क्यापिटल’ लाई आफ्नो मूल कम्पनीमा ३५ प्रतिशत इक्विटी हिस्सेदारी प्रदान गरेको छ । साथै कम्पनीले अमेरिकी विदेश विभागलाई आफूद्वारा सञ्चालित अहिलेका र भविष्यका सबै क्षेत्रबाट प्राप्त हुने उत्पादनको २० प्रतिशत हिस्सा उत्पादन लागतमै खरिद गर्ने अधिकार तथा बाँकी ८० प्रतिशत खरिद गर्नका लागि ’पहिलो प्राथमिकताको अधिकार’ पनि प्रदान गरेको छ ।

तथ्यपत्रमा उल्लेख भएअनुसार यो कम्पनीको सञ्चालक समितिमा नियुक्त हुने सदस्यका सम्बन्धमा अमेरिकी सरकारले रोक लगाउन सक्ने अधिकार राख्नेछ । साथै सञ्चालक समितिका धेरैजसो सदस्य अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ ।

सम्झौता अमेरिकी कानूनअनुसार कार्यान्वयन हुने तथा यससँग सम्बन्धित विवाद अमेरिकी अदालतको अधिकार क्षेत्रमा रहने खबरमा उल्लेख छ ।

अमेरिकी सरकारले भेनेजुएलाको लाखौँ ब्यारेल नयाँ तेल अमेरिकी रिफाइनरीहरूमा प्रशोधन गरिने र अमेरिकी रिग तथा पूर्वाधार प्रयोग गरी निकालिने जनाएको छ ।

अमेरिकी सरकारका अनुसार यो सम्झौता अमेरिकी करदातामाथि कुनै अतिरिक्त आर्थिक भार नपर्ने गरी कार्यान्वयन हुनेछ ।

यसैबीच राष्ट्रपति ट्रम्पले आज ठूला तथा साना तेल प्रशोधन कम्पनीका सञ्चालकहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

इराकविरुद्ध अमेरिकी सैन्य कारबाहीका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति:
थप विश्व