नेभिगेशन

मध्यपूर्वको बढ्दो तनावले तेल बजार र सेयर बजार प्रभावित

मध्यपूर्वको बढ्दो तनावले विश्वको तेल बजार र सेयर बजारमा परेको छ ।

हिजो तेलको मूल्य करिब दुई प्रतिशतले बढ्दा विश्वभरका सेयर बजारमा गिरावट आएको छ । अनलाइन ‘फास्ट फेसन’ खुद्रा विक्रेता ‘शिन’को सेयर हिजो हङकङमा कारोबार शुरु भएलगत्तै १० प्रतिशतसम्म घटेको थियो । कारोबार बन्द हुँदा यसको मूल्य चार प्रतिशतले घटेको थियो । ब्रेन्ट कच्चा तेलको मूल्य दुई प्रतिशतले बढेर प्रतिब्यारेल ९२ दशमलव ३५ अमेरिकी डलर पुगेको छ ।

आइतबार अमेरिकाले इरानी टापुमा रहेका रकेट प्रक्षेपण केन्द्रमा आक्रमण गरेपछि सोमबार पनि तेलको मूल्य दुई दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकाले ती प्रक्षेपण केन्द्रबाट ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री सुरुङ बम बिछ्याउने तयारी भइरहेको दाबी गरेको थियो । त्यसको जवाफमा इरानले जोर्डनको अमेरिकी अखडामा क्षेप्यास्त्र प्रहार गरे पनि त्यसलाई बीचमै रोकिएको जनाइएको छ ।

द्वन्द्वका कारण ‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमन सीमित भएको छ । विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने गरेको छ । द्वन्द्व शुरु भएयता तेलको मूल्य उच्च रहँदा पेट्रोलियम पदार्थदेखि ढुवानी गरिने सामानसम्मको मूल्य बढेको छ ।

अमेरिकी बेन्चमार्क कच्चा तेलको मूल्य दुई दशमलव पाँच प्रतिशतले बढेर प्रतिब्यारेल ८७ दशमलव ८४ डलर पुगेको छ । ऊर्जाको मूल्यवृद्धिले यसअघि नै उच्च रहेको मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ ।

मुद्रास्फीति अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको दुई प्रतिशतको लक्ष्यभन्दा अझै माथि छ । ऊर्जाको मूल्यवृद्धिले घरायसी खर्च र उपभोक्ता विश्वासमा दबाब बढाउनुका साथै फेडरल रिजर्भको ब्याजदर नीतिसम्बन्धी निर्णयलाई थप जटिल बनाएको छ ।

प्रकाशित मिति:
थप विश्व