काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का बेला नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाका तर्फबाट भनाइ राख्दै उहाँले रसुवाको भोटेकोशी बाढी पीडित परिवारले महसुस गर्ने गरी नागरिकको जीवन रक्षाका काम गरिरहेको बताउनुभयो । यो पुस्ताले नसुनेको प्रलय भोगिरहेकाले बाढीले हजारौँ परिवारलाई विचलित बनाई त्रिशूली सभ्यताको नाश गरेको उहाँले सुनाउनुभयो ।
उपनेता पराजुलीले भन्नुभयो, ‘उद्धार गर्ने प्रयास जारी छ, जटिल भौगोलिक बनोट छ, कठिन खोच भएको भूगोलमा घटना भएको छ, पर्याप्त स्रोत, साधन नभए पनि तीन वटै सुरक्षा निकाय लागिरहेकामा प्रशंसा गर्नुपर्छ, राज्यले आफूसँग भएको साधनमात्र प्रयोग गरेर पर्याप्त ठान्नुहुँदैन, अन्य सहयोग पनि लिनुपर्छ ।’
सूचना केवल तथ्य सार्वजनिक गर्ने उद्देश्यले मात्र नभई पीडित परिवार र राज्यकाबीच सेतु बन्ने माध्यम बन्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पीडित र वेपत्ता परिवारको विश्वास लिएर काम गर्ने बताउनुभयो । राज्यको सम्पूर्ण सामर्थ्य परिचालित हुनुपर्नेमा जोड दिँदै उहाँले सीमित साधनको अधिकतम प्रयोग गर्न सक्नुपर्ने बताउनुभयो ।
सङ्कटका बेला पदमा बस्नेमात्र नभई जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै उहाँले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार हेलिकप्टर, ड्रोनबाट काम भइरहेको जानकारी गराउनुभयो । सुरक्षाकर्मी र उद्धारकर्मी ज्यान नभनी लागेकाले तिनको मनोबल बढाउने गरी काम गर्नुपर्ने उपनेता पराजुलीको भनाइ छ । विपद्का बेला राज्यको अथक प्रयासलाई सम्मान गर्नुपर्ने बताउँदै उहाँले कमजोरीबाट पाठ पनि सिक्नुपर्ने सुझाव दिनुभयो ।
उपनेता पराजुलीले भन्नुभयो, ‘हाम्रो तयारी पर्याप्त नभएको देखियो, महाविपत्तिले विकास मोडलमा गम्भीर प्रश्न उठाएको छ, विकास संरचनामा धेरै क्षति भएको छ, विद्युत् संरचना नष्ट भएको छ, नदी कोरिडोरका पूर्वाधारका बारेमा पुनर्मूल्याङ्कन गर्नुपर्छ ।’
हिमताललगायत संरचनाको स्याटेलाइट प्रणालीबाट हेर्ने माध्यम बनाइनुपर्ने तथा विपद्मा विश्वव्यापी अभ्यासअनुसार शव व्यवस्थापन भएकाले राजनीतिक रूपमा भ्रम फैल्याइनु नहुने उहाँको भनाइ छ । विश्वव्यापी जलवायु सङ्कटमा नेपालको भूमिका कम भए पनि धेरै क्षति भोग्नुपरेको उपनेता पराजुलीले बताउनुभयो । यसको क्षतिपूर्ति नेपालले अन्तर्राष्ट्रिय अदालतसमक्ष दाबी गरिसकेको पनि उहाँले सुनाउनुभयो ।
निश्चित भूभागमा आएको विपद्ले नेपालमै असुरक्षा छ भन्ने सन्देश दिन नहुने बताउँदै उपनेता पराजुलीले यसले पर्यटन व्यवसायीमा अर्को विपत्ति थपिने गरी प्रचार नगर्न अनुरोध गर्नुभयो । शोकको अवस्थामा भए पनि राज्य यत्तिकै बस्न नहुने उहाँको सुझाव छ ।