नेभिगेशन

विपद‍्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छ : प्रचण्ड

काठमाण्डाै – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उहाँले सङ्कटको समयमा सरकार नागरिककाे साथमा हुनुपर्ने बताउनुभयो ।

‘भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनारिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ’, संयोजक दाहालले भन्नुभयो, ‘सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन गर्नुपर्छ ।’ उहाँले सङ्घ, प्रदेश र पालिकासँगै जनप्रतिनिधिलाई पनि विपद्को अवस्थामा थप क्रियाशील बनाइनुपर्नेमा जोड दिनुभयो ।

विसं २०७२ को भूकम्पलगायत राष्ट्रिय सङ्कटको घडीमा विपक्षीका रूपमा आफूहरूले सरकारलाई साथ दिएको स्मरण गर्दै संयोजक दाहालले बाढीपछि खोज, उद्धार र राहत वितरणमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताउनुभयो ।

‘बाढीपछिको उद्धारमा कमीकमजोरी देखिए त्यसलाई सच्याएर जानुपर्छ । राहत, तत्काल पुनर्स्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकार गम्भीर बन्नुपर्छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रिय एकता, समन्वय र सहकार्यको नेतृत्व गर्ने सरकारलाई अवसर छ, यसतर्फ सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर हुनुपर्छ ।’

संयोजक दाहालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति:
थप राजनीति