नेभिगेशन

ट्रम्पको आदेशपछि ‘एप्पल’ म्याप्सले ‘लेक ओन्टारियो’ को नाम फेरेर ‘लेक अमेरिका’ राख्यो

क्यानडासँगको व्यापारिक विवादका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशपछि एप्पलले आफ्नो ‘म्याप्स’ एपमा ‘लेक ओन्टारियो’ को नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राखेको छ ।

यो परिवर्तन अमेरिकामा रहेका प्रयोगकर्ताहरूका लागि गरिएको हो, जबकि क्यानडाका प्रयोगकर्ताहरूले भने ‘लेक ओन्टारियो’ देखिरहनेछन् ।

छिमेकी देशहरूबीचको व्यापार वार्ता गएको महिनाको अन्त्यतिर विफल भएपछि र अमेरिकाले २० अर्ब डलर बराबरका क्यानेडेली सामानहरूमा ५० प्रतिशतको नयाँ भन्सार शुल्क लगाएपछि ट्रम्पले ‘लेक ओन्टारियो’ को नाम परिवर्तन गर्न जारी गरेको कार्यकारी आदेशलगत्तै आईफोन निर्माता कम्पनीले यो कदम चालेको हो ।

यस्तै अर्काे प्रविधि कम्पनी गुगलले पनि भर्खरै अमेरिकामा आफ्ना प्रयोगकर्ताहरूका लागि यस्तै परिवर्तन गरेको छ जसका कारण सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।

क्यानाडाले अमेरिकाको करको जवाफमा ‘डलर बराबर डलर’ अर्थात् समान मूल्यको प्रति–भन्सार शुल्क लागू गर्ने बताएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको प्रशासन व्यापार वार्ताबाट पछि हटेको छ, उहाँको कार्यालयले यसको कारण ‘अस्वीकार्य मागहरू’ भएको बताएको छ ।

कार्नीले ट्रम्प प्रशासनलाई दुई पक्षबीच फेरि वार्ता शुरू हुनुअघि ‘गम्भीर बन्न’ र कडा देखिने प्रयास त्याग्न भन्नुभएको छ ।

ट्रम्पको कार्यकारी आदेशले अमेरिकी गृह मन्त्रालयलाई ’जियोग्राफिक नेम्स इन्फर्मेसन सर्भिस’ (देशका विभिन्न स्थानहरूको नामसम्बन्धी आधिकारिक तथ्याङ्क–भण्डार) मा यो परिवर्तन अद्यावधिक गर्न ३० दिनको समय दिएको छ ।

अमेरिकी आन्तरिक मामिला मन्त्री डग बर्गुमका अनुसार हस्ताक्षर गरिएको कार्यकारी आदेशको पालना गर्दै आफ्नो ‘म्याप्स’ प्लेटफर्ममा ‘लेक ओन्टारियो’ को नाम परिवर्तन गर्न ट्रम्पले एप्पललाई विशेष रूपमा आग्रह गर्नुभएको थियो ।

ट्रम्पले सामाजिक सञ्जालमा कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ बाट बनाइएका भिडियोहरू पनि पोस्ट गर्नुभएको छ जसमा उहाँले ‘लेक ओन्टारियो’ को साइनबोर्डमाथि लात हानेको र त्यसको ठाउँमा ‘लेक अमेरिकामा स्वागत छ’ लेखिएको अर्को साइनबोर्ड राखेको क्लिप पनि समावेश छ ।

तालमै क्यानडाले ‘लेक ओन्टारियो : अहिले र सधैँ’ भन्ने शब्दहरू भएको एउटा नयाँ साइनबोर्ड राखेको छ ।

प्रकाशित मिति:
थप विश्व