नेभिगेशन

बढीमा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरुको खोजी र फेला परेका बेवारिसे शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबु, आमा, छोरा या छोरीमध्ये एकलाई डीएनए नमुना उपलब्ध गराउन आग्रह गरेको हो । डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ ।

बाढीमा परी ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरु गरिसकेको छ । बाढीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डिएनए परीक्षणमार्फत फेला परेका शव वा शरीरका अङ्ग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो ।

प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुई प्रति फोटो लिएर अस्पतालमा उपस्थित भई नमूना दिन सक्नेछन् । अस्पतालमा उपलब्ध फाराम भर्नुपर्नेछ । फाराम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमुना सङ्कलन गर्नेछ ।

हराइरहेका विदेशी नागरिकको हकमा विदेशमा रहेका उनका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराएर तुलनाका लागि डीएनए प्रोफाइलको ‘सफ्ट कपी’ नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

सङ्कलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ । प्रहरीले बाढी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम भैरहेको पनि जनाएको छ ।

शव फेला परेको ठाउँमा मुचुल्कालगायत कानुनी प्रक्रिया पूरा गरेपछि शवलाई सुरक्षित रूपमा झोलामा राख्ने र फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

पहिचान खुल्न नसकेका शवलाई छुट्टाछुट्टै सङ्केत वा कोड नम्बर प्रदान गरी फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्रीलगायत विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ ।

PPP-notice-1788414843.jpg
 

प्रकाशित मिति:
थप समाज