नेभिगेशन

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख काट्न थालियाे

काठमाण्डाै – भोटेकोशी नदीको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडक खण्डअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनका लागि रुख कटानको काम शुरू भएको छ ।

भदौ १० गतेको बाढीले सडक भासिएपछि अवरुद्ध बनेको यो क्षेत्रमा सडक खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले २९ जना जनशक्ति परिचालन गरिएको छ । यो जनशक्तिले सडकको दुवैतर्फबाट रुख कटानको काम गरिरहेको छ ।

सडक मर्मत र पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ । नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्साङ्कनसहितको प्रतिवेदन बुझाउनेछ ।

सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

अहिले निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउनका लागि आवश्यक पूर्वतयारीलाई तीव्र पारेका छन् ।

कृष्णभीरमा सडक खुलाउन कम्तीमा दुई हप्ता लाग्न सक्ने प्रारम्भिक अनुमान छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज