नेभिगेशन

प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता

काठमाण्डाै – उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व उर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य र पूर्वाधार विकासका सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाका विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो ।

भेटका क्रममा घिसिङले अहिले विपद्को सङ्कट अवस्थामा उद्धार, राहत र पुनर्स्थापनाका कार्यलाई एकीकृतरूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । विशेषगरी बाढी र पहिरोका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड दिन उहाँले आग्रह गर्नुभयो ।

सडक सञ्जालको पुनर्स्थापनाका विषयमा छलफल भएको र आफूले स्याफ्रुबेँसीलगायतका क्षेत्रमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन तथा रणनीतिक ठाउँमा बेलिब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनुभएको छ ।

यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत् आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मकरूपमा लिँदै विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञहरूको सल्लाहअनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएकाे घिसिङले भेटपछि बताउनुभएको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति