नेभिगेशन

प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षीबीच टेलिफोन वार्ता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच टेलिफोन वार्ता भएको छ ।

आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्त्वपूर्ण भएको बताउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाहले गएको भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको यो विपद‍्मा उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञसहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको छ ।

प्रधानमन्त्री शाहले रसुवा बाढीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको पनि खोजी कार्य तीव्र पारिरहेको जानकारी गराउनुभएको छ ।

संवादका क्रममा अस्ट्रेलियाका प्रधामन्त्री अल्बानिजले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप राजनीति